महिला सशक्तिकरण जिल्ला केन्द्रद्वारा आँगनवाडी कार्यकर्ता, आँगनवाडी सहयोगी र आशा सदस्यलाई पीसी–पीएनडीटी ऐनबारे जानकारी गराइयो।
Publish Date : 12/09/2025

नामची, सेप्टेम्बर ०८ (आइपीआर): सङ्कल्प–जिल्ला महिला सशक्तिकरण केन्द्र (डिएचइडब्ल्यू) जोरथाङ अन्तर्गत महिला बालबालिका ज्येष्ठ नागरिक तथा दिव्याङ्जन कल्याण विभागद्वारा आज जोरथाङस्थित वान स्टप सेन्टरमा पीसी–पीएनडीटी (गर्भाधान–पूर्व तथा गर्भ–पूर्व निदान प्रविधि) अधिनियम सम्बन्धी विशेष सचेतनामूलक कार्यक्रम आयोजना गरियो।
कार्यक्रममा प्रमुख अतिथि, नयाँबजार जोरथाङ नगर पञ्चायत श्री साम्तेन मोक्तान रहनु भएको थियो। उहाँसँगै महिला तथा बाल विकास परियोजना अधिकारी (महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङजन कल्याण विभाग) श्री प्रविन सिलाल, स्वास्थ्य शिक्षा अधिकारी (आइ.इ.सी सेल जोरथाङ) श्री सञ्जय कुमार राई, स्वास्थ्य शिक्षिका (आइ.इ.सी सेल जोरथाङ) सुश्री निला हाङमा सुब्बा तथा स्टाफ नर्स (सी.एच.सी जोरथाङ) सुश्री गायत्री क्षेत्रीको पनि उपस्थिति रहेको थियो।
मुख्य अतिथिले आफ्नो सम्बोधनमा, स्वास्थ्यको महत्त्वलाई जोड दिनुभयो र दैनिक जीवनमा स्वस्थ जीवनशैली यापन गर्न आवश्यक रहेको कुरा बताउनुभयो। उहाँले आँगनवाडी कार्यकर्ता, आँगनवाडी सहयोगी तथा आशा कार्यकर्ताप्रति आभार प्रकट गर्दै जन्मपुर्वदेखि जन्मपश्चात् र बाल्यावस्थासम्मको विकास प्रक्रियामा उनीहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। मातृ–शिशुलाई गुणस्तरीय स्वास्थ्य सेवा तथा पोषण उपलब्ध गराउन उनीहरूको निरन्तर समर्पणले व्यावसायिक क्षेत्रमा प्रशंसा पाएको बताउनुभयो।
त्यसैगरी उहाँले पी.सी.पी.एन.डी.टी सम्बन्धी जनसाधारणमा साक्षरता बढाउनु पर्ने आवश्यकता बताउनु भयो। यस्ता सचेतनामूलक कार्यक्रमले समाजमा विद्यमान पितृसत्तात्मक सोच र लैङ्गिक विभेद विरुद्ध लड्न मद्दत गर्ने भन्दै सन्तुलित लिङ्ग अनुपात सहितको स्वस्थ समाज निर्माणमा टेवा पुर्याउने कुरा व्यक्त गर्नुभयो।
स्रोत व्यक्ति, स्वास्थ्य शिक्षा अधिकारी श्री सञ्जय कुमारले उपस्थित आँगनवाडी कार्यकर्ता, आँगनवाडी सहयोगी र आशा सदस्यलाई पी.सी.पी.एन.डी.टीमा उल्लेखित निर्देशनहरूबारे जानकारी दिनुभयो। उहाँले यस अधिनियमले भ्रूण हत्या (गर्भपतन) नियन्त्रण गर्न, गर्भाधान अवधिमा गरिने लिङ्ग पहिचान (लिङ्ग खुलासा) सम्बन्धी विधि र प्रविधिमा रोक लगाउन तथा समाजमा घट्दो प्रजनन दरलाई सन्तुलनमा ल्याउन सहयोग गर्ने बताउनुभयो।
कार्यक्रमको क्रममा प्रधानमन्त्री मातृत्व वन्दना योजना (पीएमएमभिवाइ), मिशन शक्ति, वान स्टप सेन्टर तथा सङ्कल्प–महिला सशक्तिकरण जिल्ला केन्द्र सम्बन्धी प्रचार सामग्रीहरू पनि सहभागी तथा पाहुनाहरूलाई वितरण गरीइयो।