PRESS RELEASE FROM THE OFFICE OF DEPUTY SPEAKER SLA
             Publish Date : 13/07/2025          
          
                       
                        २११औं भानु जयन्ती समारोह याङगाङमा भव्य रूपमा सम्पन्न
भालेडुङा साहित्यिक मञ्च, याङगाङ, नाम्ची जिल्लाको आयोजनामा २११औं भानु जयन्ती समारोह २०७९ श्रावण २८ गते याङगाङ पाठशाला प्रेक्षगृहमा एक भव्य र भावनात्मक वातावरणमा सम्पन्न भयो।
कार्यक्रमको आरम्भ हालै दिवंगत भएका सिक्किमका साहित्य शिरोमणि, पद्मश्री सानु लामाप्रति श्रद्धाञ्जली अर्पण तथा शोक प्रस्तावबाट गरिएको थियो। यद्यपि शोकबाट सुरु भएको समारोह साहित्य, भाषा र चेतनाको उत्सवमा रूपान्तरित भयो।
समारोहमा प्रमुख अतिथि साहित्य अकादमी पुरस्कार प्राप्त श्री युवा बराल तथा विशेष अतिथि एवं सभाध्यक्ष श्रीमती राजकुमारी थापाको गरिमामय उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण बनायो। विशिष्ट अतिथिका रूपमा राजनीतिक सल्लाहकार श्री बिकाश बस्नेत, खाद्य प्रशोधन विभागका अध्यक्ष श्री सी.एल. गुरुङ, ओएसडी द्वय श्रीमती डेन्किला भुटिया र श्री सनबहादुर राई, एसडीएम श्री के.एल. दाहाल, बीडिओ श्रीमती निडे भुटिया, प्रमुख लेखा अधिकृत श्री बी.बी. सुब्बा, उपनिदेशक श्री अनिल राई, भाषा समिति अध्यक्ष श्री पी.एल. डंगोल, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, सीएलसी अध्यक्ष, पंचायत प्रतिनिधिहरू, शिक्षक, अभिभावक, विद्यार्थी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहमा आदिकवि भानुभक्त आचार्यको जीवन र कृतित्वमाथि विशेष प्रकाश पारिएको थियो। विशेषगरी नेपाली भाषामा अनूदित रामायणले नेपाली जनमानसमा भाषा र संस्कृतिप्रतिको चेतनाको जागरण गराएको कुरा स्मरण गरियो।
कार्यक्रमको प्रमुख आकर्षणहरूमा “नशा मुक्त सिक्किम” अभियानअन्तर्गत आयोजित कवितात्मक प्रतियोगिता, खुल्ला कविता वाचन, रामायण पाठ प्रतियोगिता, तथा भाषा-साहित्यको संरक्षणसम्बन्धी वक्तव्य र छलफल रहेका थिए।
विद्यालयका छात्रछात्राहरूद्वारा प्रस्तुत गरिएको नाटक ‘पढ्न पाउनु हाम्रो अधिकार’ ले बालबालिकाको आवाजलाई सशक्त रूपमा प्रस्तुत गर्दै कार्यक्रममा भावनात्मक प्रभाव छाड्यो। मुख्य वक्ता श्री हेमलाल तिवारी ‘लिजिङ’ले भानुभक्तको साहित्यिक योगदान र वर्तमान समयमा नेपाली भाषाको अवस्था र सम्भावनाबारे गहन विचार प्रस्तुत गर्नुभयो।
कार्यक्रमको समापनमा भाषा समिति महासचिवद्वारा धन्यवाद ज्ञापन गर्दै समारोहको औपचारिक अन्त्य गरियो। समग्रमा, यो समारोहले केवल साहित्यिक कार्यक्रम नभई भाषा, संस्कृति र सामाजिक चेतनाको साझा अभियानको रूप लिँदै सिक्किमको समृद्ध साहित्यिक परम्परालाई नयाँ उचाइमा पु-याउने स्पष्ट संकेत गरेको छ।
 
                        
                         
                            